इजरायलमा दुई वर्षमा चौथो पटक चुनाव हुँदैं, फेरि संसद विघटन



काठमाडौं । इजरायलमा दुई वर्षमा चौथो पटक चुनाव हुने भएको छ । दुई प्रमुख पार्टीबीचको गठबन्धन सरकारले समयमै सन् २०२० को बजेट पारित गर्न नसकेपछि नयाँ चुनावको घोषणा गरिएको हो ।

बेलायती प्रसारण संस्था बिबिसीका अनुसार पछिल्लो चुनाव भएको १२ महिनापछि २३ मार्चमा पुनः मतदान हुन लागेको हो । पछिल्ला दुई निर्वाचनमा दुबै प्रमुख दलले बहुमत ल्याउन सकेका थिएनन् । त्यसपछि त्यहाँ गठबन्धनको सरकार बनेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप छ । उनी छैंठौ पटक प्रधानमन्त्री कार्यलयमा फर्किने दाउमा छन् ।

आफूमाथि लागेका आरोपहरूलाई उनले अस्वीकार गर्दै आएका छन् ।‍ मंगलबार मध्यराति इजरायलको संसद स्वतः विघटन भएको हो । सन् २०२० को बजेट समयमै पारित गर्न नसकेपछि संसद विघटन भएको हो ।

विघटन हुनबाट बचाउन ११ घन्टाअघि बजेट पारित गर्न समय थप्नेसम्बन्धी विधेयक ल्याइएको थियो । तर सासंदहरूले त्यसको विपक्षमा मत हालेका थिए ।

प्रधानमन्त्री नेतान्याहू दक्षिणपन्थी लिकुड पार्टी र उनका प्रतिद्वन्द्वी बेन्नी गान्जको ब्लू एन्ड ह्वाइटले विघटन हुनु केही घन्टाअघि संकट ल्याएको भन्दै एक अर्कामाथि आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्