प्रधानमन्त्री ओलीको पछिल्लो कदम असंवैधानिक र अलोकतान्त्रिक भयो : रविन्द्र मिश्र



काठमाडौं । संसद विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रघाती कदम भनेका छन्। आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेका छन् ।

ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको भन्दै उनले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको समेत स्मरण गराए।

‘संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ । सो अधिकारको प्रयोग नै नगरी निहीत स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

ओलीको कदमलाई लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई–तिहाई जनमतमाथिको निर्लज्ज घात भएको मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्