‘प्रधानमन्त्री ओलीको धोका दिने र अपमान गर्ने प्रवृत्ति रोकिएन’ : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।

प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डको भनाइ थियो । ‘असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं’, उनले भने । ओली पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको प्रचण्डले बताए ।

‘पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरियो । तर, उहाँ (ओली) को धोका दिने, अपमान गर्ने प्रवृत्ति रोकिएन’ प्रचण्डले भने, ‘मैले अब दुई अध्यक्ष मिलेर सचिवालयकै सात जना वरिष्ठ नेताहरुलाई धोका दिन्न ।’ दुई मिल्दा सात नेता एकातिर हुने अवस्था तोडेर आफू आठ जना बन्न तयार भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्