
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जनप्रतिनिधि संस्था संघीय संसदलाई उपेक्षा गरी ल्याइएको बताएका छन् ।
नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासनविपरीत षड्यन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरिएको छ, फेसबुकमा धारणा सार्वजनिक गर्दै यादवले भनेका छन् ।
उनले सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको बताए।





