एमसीसी सम्झौता कार्यान्वयनमा सरकार दृढ भएन : नेता महत



चितवन । नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् ।

चितवनको नारायणगढमा आयोजित सरकार विरोधी सभामा नेता महतले कांग्रेस सरकारको पालामा भएको एमसीसी सम्झौता कार्यान्वयनमा सरकार दृढ नभएको बताए ।

‘शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एमसीसी सम्झौता संसदबाट पास हुनपर्छ,’ पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘एमसीसी पास भए अमेरीकी सेना आउँछ भन्नु सरासर झुट प्रचार गरिएको छ ।

विद्युत लाइन विस्तार र सडकका लागि ५० करोड डलर सहायता आउन लागेकाले विरोध गर्न उचित नभएको उनले बताए ।

नेता महतले भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्नुपर्ने बताए । चीनले नेपालका विभिन्न ठाँउमा सीमा मिचेका खबरहरु आएपनि सरकारले थाहा नपाए जस्तो गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्