डा. राजन भट्टराईद्धारा आफ्नै पहलमा निर्माण भैरहेका बूढानीलकण्ठ १३ र ८ का विभिन्न परियोजनाको निरीक्षण : विकासबाट स्थानीयवासी सन्तुष्ट



काठमाडौं क्षेत्र नं ४ मा आफ्नो पहलमा निर्माण सम्पन्न र निर्माणाधीन विकास योजनाको स्थलगत अवलोकनका क्रममा नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराई बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ पुगेका छन् ।

स्थलगत भ्रमणका क्रममा डा. भट्टराईले चुनिखेलवासीलाई खानेपानी सहितको धारा उपलव्ध गराउने बाचा अनुसार धोवीखोला कोरिडोरमा रहेको बोरिंग र भवन निरीक्षण गरेका थिए भने वडाको माथिल्लो भेगमा निर्माण गरिएका खानेपानी ट्यांकीहरुको वारेमा पनि जानकारी लिएका थिए।

खानेपानी योजना निरीक्षणपछि डा. भट्टराई नौलिन भद्रकाली मन्दिर र पार्कको निरीक्षणमा पुग्दा सो स्थानमा जिर्ण अवस्थामा रहेको ऐतिहासिक सत्तल पुननिर्माणका लागि पुरातत्व विभागसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

डा. भट्टराईको निरीक्षण भ्रमणमा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राई, नेकपा प्रदेश कमिटीका सचिवालय सदस्य तथा नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का, बूढानीलकण्ठ नगर कमिटी सचिव प्रदिप डंगोल , वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ, नगर कमिटी सदस्यहरु भाइनारायण श्रेष्ठ, कृष्णकाजी श्रेष्ठ ,अमर श्रेष्ठ ,दामोदर पौडेल , नेकपा बूढानीलकण्ठ -१३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठ, सचिव रामलाल श्रेष्ठ, वडा सदस्य मंगल नगरकोट, श्याम श्रेष्ठ ,रिना श्रेष्ठ सहित नौलिन – जगडोल सडक निरीक्षण गरेका डा.भट्टराईले सो स्थानमा देखिएको जग्गा व्यवस्थापन समस्याका बारेमा स्थानीयहरुसँग अन्तरक्रिया गर्दै समस्या सामाधानका लागि पहल गर्ने बताए ।

बू.न.पा. १३ मै पोलिटेक्निक इन्स्टिच्युट निर्माणका लागि व्यवस्थापन गरेको जग्गा निरीक्षण गर्दै डा. भट्टराईले तत्काल सो जग्गा संरक्षणको लागि पहल गर्न आग्रह गर्दै इन्स्टिच्युट निर्माणको भौतिक र शैक्षिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

डा. राजन भट्टराईद्धारा वडा नं. ८ का विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण

त्यसका साथै काठमाडौँ क्षेत्र नं. ४ अन्तर्गत रहेको बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ का विभिन्न योजनाहरुको निरीक्षण गर्दै वडाका सार्वजनिक जग्गा संरइाण गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले चासो देखाएका छन् ।

वडा नं ८ का विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन , तारवार सहित जग्गा संरक्षण र नगवासिहरुको हितका लागि दिर्घकालिन पूर्वाधार विकासका लागि योजना निर्माणका लागि वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई डा.भट्टराईले आग्रह गरेका छन्।

वडा नं ८ मा रहेका २०० ,७७ ,५४ ,२७ रोपनी सहित अन्य सार्वजनिक जग्गाहरुको संरक्षण र अध्ययनका लागि भुमि सुधार मन्त्रालयसँग आफुले पहल गर्ने समेत डा. भट्टराईले जानकारी दिएका छन् ।

डा. भट्टराईसँगै काठमाडौं क्षेत्र नं ४ ९२ ० बाट निर्वाचित प्रदेश सभा सदस्य कुसुम कुमार कार्की ,नेकपा बाग्मती प्रदेस कमिटीका सचिवालय सदस्य तथा नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी , नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,नेकपा नगर कमिटी अध्यक्ष रबिन अधिकारी ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,सदस्यहरु दुर्गा थापा ,माधव पौड्याल ,प्रतिक्षा पुर्कुटी र मंजु बस्नेत थापा थापा लगायतको व्यक्तिहरुले पनि स्थलगत भ्रमण गरेका थिए ।

स्थलगत निरीक्षणकाका क्रममा डा. भट्टराईसँग स्थानीयहरुले सो क्षेत्रमा खानेपानी ,ढल विस्तार , पहिरो नियन्त्रण र पूर्वाधार निर्माणका लागि अनुरोध गरेका थिए। सो अवसरमा डा. भट्टराईले स्थानीयहरुको अनुरोधलाई गम्भीर रुपमा लिएर योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए। डा. राजन भट्टराईले चालेका कदमबाट स्थानीयवासी निकै हर्षित रहेको बू.न.पा १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ र बू.न.पा.८ का अध्यक्ष सुमन तामाङले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्