चन्द्रागिरिमा मिनी ट्रक दुई सय मिटर तल खस्दा चालकसहित दुईको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

प्रारम्भिक रूपमा उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको बुझिएको छ । यीमध्ये कसले ट्रक चलाएको भन्ने खुलेको छैन । यद्यपि मानकुमार माझी ट्रयाक्टर चलाउँथे भने कार्की कन्स्ट्रक्सनका सुपरभाइजर भन्ने बुझिएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्