
काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंसहित ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको छ । सोमबार दिउँसो जुलुससहित प्रदर्शन र सभा गर्न लागिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले पदाधिकारीसहित शीर्ष नेतालाई जिल्लाहरूमा हुने कार्यक्रममा खटाएको छ । केन्द्रीय सदस्यहरू पनि जिल्ला कार्यसमितिका मागअनुसार जिल्लाहरूमा हुने कार्यक्रमका लागि पुगेका छन्।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक दूरी र मास्क लगाएर प्रदर्शनमा जुट्न आग्रह गरेका थिए । देउवा मकवानपुरमा हुने कार्यक्रममा सहभागी हुँदैछन्।
काठमाडौंमा दिउँसो १ बजे शान्तिबाटिकामा कोणसभा हुँदैछ । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । विभिन्न ठाउँबाट प्रदर्शनसहित जुलुश शान्तिबाटिकामा आउने कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ ।





