कोइराला निवासबाट शशांकले भने : ‘सरकारविरुद्ध आन्दोलन गर्नु हाम्रो राजनीतिक बाध्यता हो’



काठमाडौं । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले कोइराला परिवारबाट तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । नेपाल कांग्रेसको घोषित देशव्यापी आन्दोलन सञ्चालनका निम्ति विराटनगर पुगेका कोइरालाले सोमबार परिवारबाट सल्लाहअनुसार नै कांग्रेसको भावी नेतृत्वमा एक जना पुग्ने बताएका हुन् ।

उनले डा.शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए । ‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह गरिकन नै एक जना उम्मेदवार बन्छौं,’ कोइराला निवासबाट सोमबार बिहान शशांकले पत्रकारहरूसँग भने ।

उनले महाधिवेशन फागुनमा हुन सम्भव नरहेको बताए । कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताए ।

कोइराला सोमबार विराटनगरमा गर्ने प्रदर्शनको नेतृत्व गर्दैछन् । उनले कोरोना महामारीको बीच सरकारविरुद्ध आन्दोलन गर्नु राजनीतिक बाध्यता रहेको बताए । सरकार भ्रष्टाचार, अनियमितता, संघीयताविरोधी र सर्वसत्तावादी बन्दैछ, त्यसैले यो सरकारविरुद्ध आन्दोलन गर्नु हाम्रो राजनीतिक बाध्यता हो, कोइरालाले भने ।

अर्को एक प्रसंगमा कोइरालाले नेपालमा हिन्दुराष्ट्र हुनुपर्ने र यो जनताको माग रहेको बताए । उनले हिन्दुराष्ट्रका लागि भोलि आवश्यक परे जनमतसंग्रह गर्न तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्