पत्रकारलाई फाँसी दिएपछि अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्यो विरोध



केहीदिन अघिमात्र इरानमा एक पत्रकारलाई फाँसी दिइयो । यहि कुरालाई लिएर अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विरोध जनाइरहेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा आज जारी गरिएको विज्ञप्तिमा यो कुरा उल्लेख गरिएको छ ।

सरकार विरोधी विद्रोह भड्काएको आरोपमा पत्रकार रुहल्लाह जामलाई इरान सरकारले यही सन २०२० डिसेम्बर १२ का दिन फाँसी दिएको हो । त्यहाँको अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियोे ।

रुहल्लाह जामले २०१७ मा इरानी सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा आफ्ना भनाइहरु राखेका थिए । उनीमाथि सरकार विरुद्ध घृणा फैलाएको आरोपमा २०१९ मा मुद्धा पनि चलाइएको थियो । पत्रकार जामले फ्रान्समा रहेर पत्रकारिता गर्दै आएका थिए । उनले अमाद न्यूज नामको मिडिया सञ्चालन गर्दै आएका थिए, जुन मिडिया इरानमा अत्यधिक चर्चित छ ।जसलाई इरान सरकारले प्रतिबन्ध लगाएको छ ।

‘हाम्रो संगठन संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएका मानव अधिकारवादी संगठनहरु, न्याय र समानताको पक्षमा कलम चलाउँदै आएका संसार भरका लेखक तथा पत्रकारहरुलाई इरानी पत्रकार जामको गैरन्यायिक मृत्युदण्डका विरोधमा र न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्न हार्दिक अपिल गर्दछ र फासिस्ट इरानी सरकारको हदैसम्मको फासीवादी हर्कतको घोर विरोध र भ्रत्सहाना गर्दछ । साथै इरानी पत्रकार जामप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’ केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्