प्रहरी सेवामा युवाको उत्साह



पोखरा । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको एक जत्था । तालीममा सहभागी कुस्मा–८ चुवा पर्वतकी २० वर्षीय स्वस्तीका परियार बाबुआमाको इच्छा पूरा गर्न प्रहरी भर्तीमा आएको बताए ।

“भर्खर कक्षा ११ को परीक्षा दिएर आएको हो, आमा बुबाले छोरी प्रहरीमा भर्ती भएको देख्न चाहनुभएको छ उहाँहरुको इच्छा र मेरो रहरले राष्ट्रसेवामा लाग्न प्रेरित गरेको छ”, उनले भने, “तालीम गाह्रो भए पनि आफू उत्तीर्ण हुने विश्वास लिएको छु ।’’

अर्का सहभागी स्याङ्जा बयरघारीकी विनिता एसकेले जापान जाने इच्छा मारेर प्रहरीमा जागिर खान आएको बताए । “जापान जान जापानी भाषा सिकेर बसेकी थिएँ तर बाबाले विदेश नगएहुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभयो, अब प्रहरी बनेर राष्ट्रसेवा गर्ने रहर आयो”, उनले भने, ‘‘आजसम्मको प्रशिक्षण राम्रो भएकाले अब लिखित र अन्तवार्तामा सफल हुने विश्वास छ ।” सशस्त्र प्रहरी रहेका दाइले प्रहरीको जागिर सुख नभई दुःख हुन्छ भने पनि आफूलाई यस क्षेत्रप्रति रुची जागेर आएको उनको भनाइ छ ।

शारीरिक सहिष्णुता प्रशिक्षणमा उत्तीर्ण हुनुभएकी स्याङ्जाकी २० वर्षीया सुलोचना रेग्मी दोस्रोपल्ट प्रहरीमा आवेदन दिएको बताइन् । उनी भन्छिन्, “यसअघि पनि म प्रहरी सहायक निरीक्षक पदका लागि आएको थिएँ तर छिटै बाहिरिएँ, अहिले अलि बढी आत्मविश्वासका साथ आएकी छु, छनोट हुन्छु जस्तो लागेको छ ।” स्नातक तेस्रो वर्षमा अध्ययनरत रेग्मीले प्रहरीको ‘चेन अफ कमाण्ड’ र अनुशासनका कुराले प्रहरी सेवामा जागिर खाने रहर लागेको बताइन् । मलाई प्रहरीमा जागिर खान असाध्यै मन लागेको छ, हेरौँ रहर कत्तिको पूरा हुन्छ”, उनले भनिन् ।

पर्वत शङ्करपोखरी विष्टपानीका सञ्जय भुसालले यही मङ्सिर १६ गते मात्रै १२ कक्षाको परीक्षा सकेर प्रहरीमा जागिर खाने सोचले दर्खास्त दिएको बताए । आमाको निधन भइसकेको र बुबा एक्लो भएकाले पनि विदेशभन्दा स्वदेशमै परिवारको रेखदेखसँगै राष्ट्रको सेवा गर्ने पाइने भएकाले प्रहरीमा भर्ति हुन आएको उहाँको भनाइ थियो । “म परिवारको साथमा रहेर आफ्नै देशको सेवामा समर्पित भएर काम गर्ने रहरले यस क्षेत्र रोजेको हुँ, हेरौँ बाँकी परीक्षा कस्तो हुन्छ आजसम्मको राम्रो भएको छ”, भुसालले भने ।

स्याङ्जाका १९ वर्षीय झलमान श्रेष्ठ सानैदेखिको रुचीले प्रहरीमा भर्ती हुन आएको बताए । कक्षा १२ पास गरेका श्रेष्ठले भने, “मलाई सानैदेखि प्रहरीमा जागिर खान मन लागेको थियो, मेरो काका पनि यस क्षेत्रमा हुनुहुन्छ । छनोट हुनसके यसै क्षेत्रबाट राष्ट्रसेवा गर्ने चाहना छ ।” सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक जयबहादुर खड्काले विगत वर्षमा भन्दा यो वर्ष सशस्त्र प्रहरीमा युवाको उत्साहजनक सहभागिता भएको जानकारी दिए । देशभरि जम्मा एक हजार ८३३ को दर्खास्त आह्वान गरिएको थियो तर ५५ हजारको आवेदन परेको छ ।

गण्डकी प्रदेशमा २ हजार ४५ को आवेदन परेकामा अहिले ६७९ जना छनोटमा महिला ६२ र र पुरुष ६१७ छन् । त्यसबाट पनि छनोट हुँदै जाने उनको भनाइ छ । उनले अहिले कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएको र विदेशबाट पनि युवा फर्किएकाले प्रहरी सेवामा युवाको आर्कषण बढेको हुनसक्ने बताए । उनका अनुसार प्रशिक्षणमा पढेलेखेका शारीरिकरुपमा पनि निकै तन्दुरुस्त युवाको सहभागिता रहेको र राष्ट्रसेवाप्रतिको भाव पनि निकै सकारात्मक देखिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक काजी खालिङ राई विभिन्न पाँच चरणबाट प्रहरीका लागि छनोट गरिने बताए । उनले अनुसार साधारण प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता प्रशिक्षण, स्वास्थ्य परीक्षण, लिखित परीक्षा, अन्तर्वार्ता दिएपछि उत्कृष्टताका आधारमा अन्तिम चरणबाट प्रहरी छनोट हुने जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक हस्तबहादुर गुरुङले राष्ट्रसेवाका लागि युवाको यो उत्साह निकै सकारात्मक भएको बताए । “महिला पुरुष दुवैको सहभागिता राम्रो छ, कोरोना कहरले धेरै युवालाई अहिले देशको माटोप्रति माया जगाएको छ । रोजगारको अवसर खोजिरहेका युवा प्रहरी सेवाप्रति निकै आकर्षित भएको अहिलेको आवेदनको सङ्ख्याले देखाउँछ ।” उनका अनुसार गण्डकी प्रदेशका लागि पोखरा र तनहुँमा सशस्त्र प्रहरी भर्तीका लागि प्रशिक्षण भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्