
काठमाडौं । लामो समयसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीले अदालतमा मुद्दा दायर गरेकी छन् । पाल्पाको साविक दोमान गाविस-५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।
बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन् । ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन् ।
उनले पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । बस्यालका अनुसार युवतीको मुद्दाउपर अदालती कारबाही सुरू भइसकेको छ ।
बलात्कार मुद्दाको हदम्याद एक वर्षको हुन्छ । त्यसपछि आउने मुद्दाको अनुसन्धान जटिल हुने हुँदा पीडितले न्याय पाउने सम्भावना एकदमै कम हुने बस्यालले जानकारी दिए ।
मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन् । केही समयअघि सम्पर्कमा आएकी ती युवतीले आफूमाथि लामो समय अन्याय भएकाले न्याय खोजिरहेको बताएकी थिइन् ।
यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै अस्वस्थ भएको उनले बताइन् । उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन् ।





