
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनुपर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता व्यक्त गर्दै अहिले मूल्य मान्यताभन्दा पनि पावर, मनी मसलको प्रयोग हुनु निकै दुखद भएको बताए ।
वर्तमान सरकार संविधान र संघीयताको मर्म विपरित हिँडेको समेत उनले बताए । विहीबार काठमाडौं ३१ का नेपाली काँग्रेस इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताको अनुकूल नभएको आरोप लगाए ।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक निकायको व्यवहार गरेकोमा उनको आपत्ति छ । सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै नेता सिंहले १३ औं महाधिवेशनपछि काँग्रेस कमजोर भएको टिप्पणी गरे ।





