
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाज, टीप्पणी र स्वास्थ्य आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् । तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उनले उल्लेख गरेका छन् ।
विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, लोकतन्त्रको अपरिहार्य अंगका रुपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ ।
तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।
आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने आलीको भनाइ छ ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गर्दै अब कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिको पहुँचमा पु¥याउन सरकारले आवश्यक गृहकार्य गरिरहको बताएका छन् ।





