
नारायण दाहाल, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी भएकोले विवाद रहित हुन सक्दैन । पार्टी भनेकै अन्तरसंघर्षको केन्द्र हो । पार्टी भनेको विपरित विचको एकत्व पनि हो । द्धन्द्धवादलाई स्विकार गर्नेहरुले विवाद हुँदा डराउनु पर्दैन । एकता, संघर्ष रुपान्तरण नेकपाको अर्को मान्यता हो ।
नेकपामा देखिएको अन्र्तसंघर्ष टुङ्ग्याउन पार्टी भित्र नयाँ एकताको आवश्यकता छ । दक्षिण एसियाकै सवैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा रहेको नेकपा एक पटक एकता हुँदा सधैं एकता हुने र एक पटक फुटेपछि सधैं फुट्ने भन्ने मूल्य मान्यता भित्र पर्दैन ।
पार्टीका कार्यकारी अध्यक्ष क.प्रचण्डको अथक प्रयास पछि एकता भएको हो । प्रचण्डले नचाएको भए यो एकता सम्भव थिएन । आजको मितिसम्म पनि प्रचण्ड एकताको पक्षमा हुनुहुन्छ । उहाँको सोच्ने तरिका नै डाइनामिक छ । धेरै माथिबाट सोच्नुहुन्छ । उहाँले पार्टीभित्र देखिएका विसङगतिका विषयबस्तुहरु, कायैशैली प्रति देखिएका गलत प्रवृतिहरु, पार्टीभित्रका नराम्रा गतिविधिलाई उजागर गर्नुभयो किनकी कम्युनिष्ट पार्टीलाई नयाँ ढङ्गबाट अगाढि बढाउन, नयाँ शिराबाट अगाढि बढाउनको लागि प्रचण्डले कदम चाल्नुभएको हो, पार्टी फुटाउनको लागि होइन ।
प्रचण्डले कुनै विवाद विना प्रधानमन्त्री केपी ओलीलाई पाँच बर्ष सरकार चलाउन दिनुभएको हो । अहिले पनि यो एकता उहाँकै इच्छामा भएको हो । प्रचण्ड विचार प्रधान हुनुहुन्छ, कुनै पद प्रधान हुनुहुन्न, फुटेर गएका नेता कार्यकर्तालाई उहाँले नै फेरि एकतामा ल्याउनु भएको हो । प्रचण्डलाई विरोध गर्नेहरु नबुझी विरोध गर्छन । परिस्थितिको आधारमा ठोस निर्णय लिने डाइनामिक लिडरको रुपमा प्रचण्डलाई चिनिन्छ । हामी कम्युनिष्ट हौं । द्धन्द्धवादी हौं । कम्युनिष्ट जहिले पनि यथास्थितिमा रहदैंन, ठोस बस्तुको ठोस आधार लिएर अगाढि बढ्छ ।
म फेरी पनि जोड दिन्छु, कुनै पनि हालतमा प्रचण्ड एकता विरोधि होइनन् । प्रधानमन्त्री केपी ओलीलाई पनि एकता विरोधी भन्न मिल्दैन । ओलीले नचाहेको भए पनि एकता हुन्थेन होला । अध्यक्ष प्रचण्ड छुटेर, फुटेर गएका किरण, बाबुरामसँग त कुरा गर्दै हुनुहुन्छ । फुटेर गएकालाई त सहमतिमा ल्याउन चाहनुहुन्छ भने उहाँ कसरी एकता विरोधि हुनुहुन्छ ? उहाँ पार्टी एकताको पक्षमा निरन्तर लागिरहनु भएको छ ।
अहिलेको सरकार नेकपाको सरकार हो । सरकारको नेकपा होइन । नेकपाको विवाद टुङग्याउन कोठामा बसेर निर्णय गरेर हुँदैन । कमिटीमा छलफल गर्नुपर्छ । बैठकमा आएर छलफल बहस नै नगरी निष्कर्ष कसरी निस्कन्छ ? प्रधानमन्त्री जस्तो सम्माननीय पदमा बसेर उहाँले साथीहरुलाई कन्भिन्स गर्नु पर्यो नि ! स्थायी कमिटीको बैठकमा ओली मात्रै आउनु भएन । किन नआउनु भएको ? प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव मान्दिन भनेर भन्नु भएको छ, त्यो सरासर सांगठनिक पद्धति विपरित कुरा बोलिराख्नु भएको छ । प्रधानमन्त्री ओलीले बोल्नु भएको र गर्नु भएको कार्य कुन कम्युनिष्ट सिद्धान्त, कुन कम्युनिष्ट आर्दश, कुन कम्युनिस्ट नैतिकता हो ? आफ्नो पक्षमा निर्णय गरे स्थायी कमिटीमा आउँछु, नत्र आउँदिन भन्नु यो कहाँको नैतिकता हो ?
केपी कमरेडको दुईचार दिनको घुर्की मात्र हो । आगामी २८ गतेको बैठकमा उहाँ आउनुहुन्छ, आउनुपर्छ । उहाँले आफ्नो मत मजबुत ढङ्गबाट राख्नुपर्छ । साथीहरुलाई कन्भिन्स गर्नुपर्यो नी ? प्रचण्डको प्रस्ताव सबेै गलत नै छ भने स्थायी कमिटीका सदस्यहरु भेडा बाख्रा चराएर आजको जिम्मेवारीमा पुगेका त होइनन् नि ?
कम्युनिष्ट पार्टीमा असम्भव भन्ने केहि हुँदैन । भोलि गएर नयाँ वा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकिन्छ । कम्युनिष्ट पार्टीका सवै सदस्य अध्यक्ष बन्ने सम्भावना छ । तर पार्टी फुट्छ कि भनेर कसैले कल्पना गरेर पार्टी फुट्दैन । कसैले छोडेर जाँदैमा पार्टी फुट्दैन । पार्टी फुट्नै हुन्न, फुट्न दिनु नै हुन्न । अहिलेको कार्यदिशा यो होइन । नैतिक ढङगबाट यो विषय उठाउन मिल्दैन ।
(नेकपा बागतमी प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले उज्यालो नेटवर्कमा दिएको अन्तरवार्ताको सम्पादित अंश ।)





