
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ । जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो ।
उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन् । यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन, बैठकमा निधिले भने, संघीयता टिकाउने काम गरेन उल्टो कमजोर पार्ने काम गरेको छ ।
कांग्रेसले बैठकमा संघीयता, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रष्टाएको थियो ।
‘अहिले जे(जति कुरा आएका छन् । यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ ।’
सरकार अधिनायकवाद प्रवृत्तिबाट सञ्चालित भइरहेको र भ्रष्टाचार पनि बढेको कांग्रेसको भनाइ थियो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए । तीन घण्टा चलेको बैठकम कांग्रेस सभापति देउवा भने धेरैबेर बसेनन् । उनले वरिष्ठ नेतालगायत पार्टीका नेताले कुरा राख्ने भन्दै बाहिरिएका थिए ।





