कर्णालीमा प्रहरी संरचना बनाउन १० करोड खर्च गर्ने प्रदेश सरकारको निर्णय



काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र प्रहरी संरचना निर्माणका लागि झण्डै १० करोड रपैयाँ खर्च गर्ने भएको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माणका लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, प्रदेश प्रहरी संरचना निर्माणको लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणको लागि १ करोड रुपैयाँ खर्च गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी दिइने छ।

यस्तै, आर्थिक वर्ष २०७७ ०७८ को स्वीकृत बजेट अन्तर्गत चालु खर्चतर्फ ४६ लाख रुपैयाँ विपदका घटनाबाट पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । जसअन्तर्गत विपदका घटनामा मृत्यु हुने मृतकका २३ परिवारलाई उक्त रकमा राहतस्वरुप दिइने छ ।

सडक लगायत दुर्घटना उद्धार कार्यक्रमा शीर्षकबाट मृतकका २३ घरपरिवारलाई राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई स्वीकृति प्रदान गरिने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्