राजपुर बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब भारतबाट पक्राउ



रौतहट । पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको भनिएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरिएको हो ।

उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलमका भाइ हुन् । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

महताबकै परिवारका एक सदस्यले पनि उनी पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले महताब पक्राउबारे बताउन आनाकानी गरे ।

मोतीहारीस्थित आफन्तकहाँ आएका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउँदै गरेको प्रहरी स्रोतले बतायो । आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेको जिल्ला प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्