प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाएपछि……..



काठमाडौं । बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन् । बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो । राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ । उनको पहिचान भइसकेको छैन । उनको चिउडोमा गोली लागेको छ ।

पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्