जव १४ वर्षीया छोरीको पेट बढ्दै गएपछि…..



काठमाडौं । १४ वर्षीया छोरीको पेट बढ्दै गएपछि गोरखा सदरमुकाम बस्दै आएका भारत मोतिहारीका एक परिवारका सदस्य छांगाबाट खसेको जस्तै भए । छोरीको पेट दिन प्रतिदिन ठूलो हुँदै गएपछि गर्भ छ कि भन्ने शंका गरेका थिए । छोरीले के भएको हो भनेकी थिइनन् ।

बल्लबल्ल छोरीबाट उनीहरूले कुरा फुत्काए-उनी बलात्कारमा परेकी रहिछन् । घटना गत वैशाख ११ गतेको हो । त्यसदिन घरनजिकै वनमा बालिका निहुरो (तरकारी) टिप्न गएकी थिइन् । बिहान ११ बजेतिर हिँडेकी उनी अपरान्ह ३ बजेतिर एक मुठो निहुरो लिएर फर्केकी थिइन् ।

छ महिनापछि घटना खुल्यो, त्यसैदिन उनी बलात्कारमा परेकी रहिछन् । बालिकाले परिवारलाई भनेअनुसार गोरखा नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय तुलबहादुर थापाले उनलाई बलात्कार गरेका हुन् ।

घटना कसैलाई भने मारिदिने धम्की दिएका बालिका बताउँछिन्। त्यसैकारण उनले घटनाबारे परिवारलाई समयमै जानकारी दिइनन् । घटनाबारे थाहा पाएपछि उनको परिवारले थापाविरूद्ध प्रहरीमा जाहेरी दिए । तर एक महिना हुँदा पनि आरोपी थापा पक्राउ परेनन्, फरार छन्।

यता किशोरीको गर्भमा शिशु हुर्किरहेको छ । कक्षा ७ पढ्ने उनको गर्भमा ३१ साताको शिशु छ। किशोरीलाई पोखरास्थित थ्रीएञ्जल्स संस्थामा लगेर राखेको परिवारले जनाएको छ।

‘परिवारले घटनाबारे ढिला गरी जाहेरी दिनुभयो। उहाँहरू कहिले कुन संस्था कहिले कुन संस्थासँग हिँड्नुभयो। तीनरचार दिन हराउने गर्नुभयो,’ गोरखाका एसपी सुरेन्द्र गुरूङले भने, ‘प्रहरीसँग किप इन टच नहुँदा पनि अनुसन्धानमा केही ढिलाइ भयो ।’

परिवारका सदस्यहरूले भने प्रहरीले आरोपी पक्राउ गर्न ढिलाइ गरिरहेको बताएका छन्। एसपी गुरूङले आरोपीको खोजी तीव्र पारिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्