परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै



काठमाडौं । नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेका बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।

मन्त्री ज्ञवालीले छिट्टै गर्ने भ्रमणका क्रममा नेपालभारबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामान्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवाणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन श्रींगला नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

भारतीय विदेश मन्त्री डा.एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन् । बुधबार भारतीय पत्रिका ‘दी हिन्दु’लाई अन्तरवार्ता दिँदै उनले नेपाल र भारतबीचमा विगतमा विवाद भए पनि पछिल्ला केही सातायता दुई देशले आपसी सम्बन्धलाई अघि बढाउने निर्णय गरिसकेको बताएका छन् ।

जवाफमा उनले भनेका छन्, ‘कुनै एउटा घटनालाई लिएर समग्र मूल्यांकन गर्नु हुँदैन। समस्या हुन्छन् । मलाई त्यस्ता कुनै छिमेकी देखाउनुहोस् जसको बीचमा विवाद नहोस् ।’ उनले भारतका अधिकांश छिमेकी मुलुकमा आज प्रजातान्त्रिक व्यवस्था रहेको भन्दै उनले अरुको आफ्नै राजनीति रहेको र भारतको आफ्नै राजनीति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्