पसलमा ढुंगा हान्ने घोराहीका नगर प्रहरी प्रमुख पक्राउ



काठमाडौं । घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन् । उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो ।

पसलमा ढुगां हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीलार्य पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

पन्थीले बिहीबार बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेको प्रहरीको भनाइ छ । पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ ।

‘उहाँले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न जानु भएको रहेछ,’ एक प्रहरी अधिकारीले भने ‘ पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि पन्थीले ढुंगा टिपेर हानेछन्।’

पन्थीले आफू नगर प्रहरी प्रमुख रहेकोसमेत मोबाइल पसल सञ्चालकलाई बताएको प्रहरीले जनाएको छ । म नगर प्रहरी प्रमुख हुँ माथिसम्म चिनजान छ भनेका रहेछन् ती प्रहरी अधिकारीले भने ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई पनि आज जिप्रका बोलाएको प्रहरीले बताएको छ । अनुसन्धानपछि गल्ती गरेको पाइएमा कारवाही गरिने प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्