जडीबुटी र कोटेश्वरलगायत अन्य ठाउँमा हुने जामको समस्या छिट्टै समाधान गछौं : एसएसपी भट्टराई



काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण उपत्यका लगायत देशैभरि ठप्प सवारी साधनहरु सञ्चालनमा आएसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

उपत्यकामा ट्राफिक समस्या र चुनौती अनि यसको व्यवस्थापनका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईसँग नाइस टेलिभिजनले गरेको नेपाल टक भन्ने कार्यक्रममा यसको व्यवस्थापन र चुनौतीका बारेमा आफू र आफ्ना मातहतका सम्पूर्ण ट्राफिक प्रहरीहरु व्यवस्थापन र समाधानका लागि अहोरात्र खटिएको भट्टराईले बताएका छन् ।

सरकारले गरेको भौतिक पूर्वाधारहरु (बाटोघाटो, ढल निर्माण, खानेपानी व्यवस्था)को तिव्र विस्तार र विस्तार हुदाँ आइपर्ने ट्राफिक चुनौतीहरु तत्काल सरकार अनि आफूहरु कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताएका छन् ।

केहीसमय अगाडी सरुवा भएर कमाण्ड सम्हाले लगत्तै भट्टराईले उपत्यकाका ट्राफिक जाम हुने प्रमुख ठाउँहरु कोटेश्वर, जडीबुटी, बानेश्वर, गौशला, चावहिल, चक्रपथ, बसपार्क, कलंकी लगायतका ठाउँमा अवलोकन गरी तत्काल कसरी जामको समस्या हटाउन सकिन्छ भन्ने बारेमा मातहतका कर्मचारीलाई ब्रिफिङ गरेका छन् । ब्रिफिङ पश्चात तत्काल जडीबुटी र कोटेश्वरमा आफू लगातार ३ दिनसम्म गएको र त्यसको चाडैँ नतिजा दिन सकिने भट्टराईले बताएका छन् ।

कार्यभार सम्हालेको केही दिनमा यातायात व्यवसायी र सम्बन्धित सरकारी निकायका कर्मचारीहरुसँग छलफल गरी जडीबुटीको जामलाई तत्काल न्युनीकरण गरिएको त्यसैगरी पहिलेभन्दा जाम धेरै नै सहज भएको भट्टराईले बताएका छन् । मैले भन्नु भन्दा काम गरेर देखाउँछु । अबको १ महिनापछि तपाईहरु आफैँ नै सो क्षेत्रमा गएर स्थलगत रिपोर्टिङ गर्नुहोस् र यात्रुलाई सहज भएको नभएको जानकारी लिनुहोस् । म ठोकुवाका साथ भन्छु यात्रुहरुले जाम पहिलेभन्दा सहज भएको पक्कै महशुस गर्नुभएको छ ।

उपत्यकाभरि रहेका ४२ युनिट अनि करिब १४ सय आफू मातहत ट्राफिक प्रहरीहरुका बारेमा रहेका थुप्रै चुनौतीहरु (कोभिड–१९ को प्रभाव, खानपान, बसोबास) बारेमा के कस्तो व्यवस्थापन गर्नुभएको छ भनी गरिएको प्रश्नमा भट्टराईले आफूहरु देशको सेवा गर्छु भनेर लागे पश्चात कहिलेकाहिँ पालमै सुत्नुपर्ने, कहिलेकाहिँ चाउचाउ र बिस्कुट मात्र खाएर ड्युटी गर्नुपर्ने, त्यसैगरी कोभिड–१९ का कारण संक्रमणमा जोखिम हुदाँहुदैँ पनि स्रोत साधन आफूसँग जति छ त्यसैले टार्नुपर्ने जस्ता बाध्यताहरु थुप्रै भएको समेत बताएका छन् । पहिलेभन्दा आगामी दिनमा अझ सहज हुनेगरी हामीले थुप्रै खालका योजनाहरु बनाएका छौँ । अबको केही महिनापछि यसको परिणाम आउने छ ।

कतिपय ठूलाबडा र ठूलाबडाका आफन्तहरुले ट्राफिक नियम नै उल्लङ्घन गर्ने र कारवाही गरे जागिर नै खाइदिन्छु भन्ने सम्मका चुनौतीहरु ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुले सामना गर्नुपर्छ नि त ? भनि गरिएको प्रश्नको जवाफ दिदैँ भट्टराईले भने, यदि कोही कसैले त्यस्ता खालका कुराहरु गर्छ भने त्यो हाम्रो लागि चुनौती र अवसर दुवै हो । ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि हामीले ट्राफिक नियम अनुसार कारवाही गर्छौ । हामीले सम्पूर्ण ड्युटीमा खटिएका हाम्रा जवानदेखि अधिकृतसम्मका ट्राफिक प्रहरीहरुलाई अधिकार दिइसकेका छौँ । उनीहरुलाई कसैले जागिर खान्छु भनेर धम्की दिए या त कुनै प्रधानमन्त्री, मन्त्री या अन्य जो कसैको पावर लगाएपनि चिट काटेपछि त्यो नै हाम्रो अन्तिम निर्णय हो । पावर लगाएर केही हुदैँन । सबैलाई यो सूचना र जानकारी गराउन चाहन्छु ।

ट्राफिक महाशाखाको कमाण्ड सम्हाले लगत्तै देश बाहिरबाट नेपाल आएका २ विशिष्ट व्यक्ति चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला नेपाल आउँदा गरिएको ट्राफिक व्यवस्थापनका बारेमा प्रहरी हेडक्वाटरमा समेत उच्च प्रशंसा भएको छ । एक अधिकारीले बताए अनुसार देश संक्रमणमा परिरहेको बेला ट्राफिक प्रहरीहरुका आफ्नै चुनौती हुदाँहुदैँ पनि २ विशिष्ट व्यक्तिहरुलाई आवातजावत गर्न कुनै खालको कठिनाई नभएको र यात्रुहरुले पनि दुख नपाएको समेत बताएका छन् ।

एसएसपी भट्टराईले अबको केही दिनमा आफै यात्रु बनेर सार्वजनिक बसमा यात्रा गरी जनताहरुको जन गुनासो र यात्रुहरुलाई ड्राइभर, सह चालकहरुले गरिने व्यवहारलाई स्थलगत अध्ययन गरी कडाईका साथ ट्राफिक नियम लागू गर्ने आफ्नो योजना समेत सुनाएका छन् । आफूहरुले ट्राफिक व्यवस्थापनमा कडाईका साथ चेकजाँच, सवारी आवगमनलाई चुस्त, तुरुस्त र सहज बनाउन सबैलाई निर्देशन समेत दिएका छन् ।

नाइस टेलिभिजनको विशेष प्रश्तुति नेपालटक कार्यक्रममा प्रश्तोता आनन्द पुनले एसएसपी जनक भट्टराई सँग गरिएको अन्तवार्ता :

प्रतिक्रिया दिनुहोस्