नेपाल र भारतले आपसी समस्याहरुलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसके : भारतीय विदेश मन्त्री



काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतले आपसी समस्याहरुलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताएका छन् ।

भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण बताए ।

द हिन्दुकी पत्रकार सुहासिनी हैदरले जयशंकरलाई नेपालको संविधान जारी भएपछिको नेपाल भारत सम्बन्धबारे प्रश्न राखेकी थिइन् ।

भारतको विरोधका वाबजुद् नेपालले संविधान घोषणा गरेको र गत वर्ष लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाल आफ्नो अडानबाट पछि नहटे पनि पछिल्लो समय भारतीय अधिकारीहरुले लगातार काठमाडौं भ्रमण गरेको कुरालाई कसरी हेर्ने भनेर सोधेकी थिइन् ।

जवाफमा विदेश मन्त्री जयशंकरले कुनै एउटा घटनालाई मूल्यांकनको आधार बनाउनु नहुने बताए। ुसमस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उनले भने,‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन्।

उनले नेपालसँग केही मुद्दाहरू भए पनि अहिले दुबै देशले साझा हितका लागि तिनलाई सुल्झाएर अघि जाने निर्णय गरिसकेको बताए।

गत वर्ष जम्मु कस्मिरको नयाँ नक्सा सार्वजनिक गर्दा लिपुलेक, कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा देखाएपछि नेपालले आपत्ती जनाएको थियो।

नेपालले वार्ताका माध्यमबाट समस्या हल गर्न प्रस्ताव गरे पनि भारतले चासो नदेखाएपछि गत जेठमा नेपालले संविधान नै संशोधन गरी कालापानी, लिम्पियाधुरासहितको आफ्नो नक्सा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्