दाना–खुर्कोट प्रसारण लाइनको सबै टावर ठडिए



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले ११० मध्ये सबै टावर निर्माण भइसकेको जानकारी दिए ।

“टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान गरिएको छ”, उनले भने, “फिनिसिङ र परीक्षण सकेपछि एक हप्ताभित्र प्रसारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिन्छ ।” दानाबाट खुर्कोटसम्म करिब ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएको हो । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको हो ।

प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो ।

पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्षपछि धकेलिएको हो । धेरै समयको प्रयासमा पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सबस्टेशनसँगै सञ्चालन गर्ने तयारीमा छ । प्रसारण लाइन र सबस्टेशन बनेपछि अनुमति लिएर बसेका अन्य आयोजनाले पनि गति लिने अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्