रौतहटमा चक्कु प्रहारबाट युवकको हत्या



काठमाडौं । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु भएको छ ।

रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा गए राति मृत्यु भएको हो । उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो ।

झै झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो ।

घाइते नन्दकिशोरलाई एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएकोमा उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्