कञ्चनपुरमा नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ



काठमाडौं । कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा दिइसकेको छ ।

अर्काको परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुन्छ । हामी थप अनुसन्धान गर्दैछौं प्रहरी नायब उपरीक्षक अमर थापाले भने । ‘

गत शुक्रबार दिउँसो १ बजेदेखि ३ः१५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि लिखित परीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्