‘महामारी मानव जातीको चुनौती हो, सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्छ’ : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी कोभिड १९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो ।

‘यो महामारी अहिले मानव जातीको चुनौती हो । यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उनले भने, ‘समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो ।’

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्