गोरखा पुगेर विदेश सचिवले भने :‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्’



काठमाडौं । नेपालको औपचारिक भ्रममा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले गोरखा पुगेर तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा तीन वटा सरकारी विद्यालय भवन निर्माण गरिएको थियो । ती भवन उद्घाटन गर्न विदेश सचिव श्रींगला आज नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा पुगेका थिए ।

गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा हालै पुनर्निर्माण सकिएको थियो ।

शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा विदेश सचिव श्रींगलाले संयुक्त रूपमा तीन विद्यालय भवन उद्घाटन गरेका हुन् । उनले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा आउन पाउँदा खुसी लागेको बताए ।

‘पृथ्वीनारायण शाहको ठाउँ र विश्वभर वीरताको रूपमा चिनिएको गोरखा आउन पाउँदा मलाई निकै खुसी लागेको छ,’ उनले भने, ‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन् । यो भूमिमा आउन पाउँदा खुसी लागेको छ ।’

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका संयोजक अशोक गुरूङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायतले पुनर्निर्माणमा सघाएकोमा भारत सरकारलाई धन्यबाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्