मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती डोल्मा लामा हेटौंडाबाट पक्राउ



काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताए । दिक्छेन हेटौंडा–१२ स्थित माइतीमा बस्दै आएको जनाइएको छ ।

प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्