अख्तियार आयोगका आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनायरायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन् ।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो ।

न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन् । उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए । उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

न्यौपानेविरुद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ । यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ ।

उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा ब्युरोले अनुसन्धान गरिरिहेको छ ।

यस्तै, न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ । भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको ब्युरोले जनाएको छ ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर-४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन्।

प्रतिक्रिया दिनुहोस्