दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउन माग, संघर्षका कार्यक्रम सार्वजनिक



काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग राखेर विभिन्न संघर्षका कार्यक्रम आज सार्वजनिक गरेको छ । यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको कारणले संघर्षका कार्यक्रम अघि सार्न बाध्य भएको समितिले जनाएको छ ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले यस्तो माग गरेको हो । दोहारी तथा रात्रिकालिन व्यवसायबाहेक अन्य व्यवसाय खुलाईएको तर यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको समितिले आरोप लगाएको छ ।

समितिले भनेको छ,‘कोभिड–१९ ले नेपाल लगायत विश्वको अर्थतन्त्र धराशयी बनाएको र पछिल्लो समय नेपाल सरकारले रात्रिकालिन लगायत अन्य केही व्यवसायहरु बाहेक सम्पूर्ण व्यवसायहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिसकेको अवस्थामा देशका कला, संस्कृतिको संरक्षण र आयस्रोतको एक मेरुदण्डको रुपमा रहेको रात्रिकालिन व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको छ । र, हामीले पटक पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकाले, काठमाडौं उपत्यकामा मात्रै झण्डै पाँच सयको हाराहारीमा रहेको व्यवस्था र २० हजारभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको यस व्यवसायलाई सरकारले कुनै पनि चासो नदिनु दुःखद् कुरा हो ।’

समितिले आफ्ना मागहरुप्रति सरकार उदासिन बनेको पनि गुनासो पोखेको छ । समितिले आवश्यक जनस्वास्थ्यका मापदण्ड अपनाएर नै व्यवसाय खोल्ने जानकारी गराएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले पनि दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘सरकारले समितिले अघि सारेका माग जसरी पनि सम्बोधन गर्नुपर्छ । माग सम्बोधन नभएकै कारण आज हामी आन्दोलनमा उत्रिएका छौं । यो आन्दोलनले भोलिको दिनमा चर्को रुप लिनसक्छ । सरकारले बेलैमा सोचोस ।’

त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माले पनि समितिका मागमा आफूहरुको एक्येबद्धता जनाए । उनले भने,‘यो संस्था र हाम्रो संस्थाबीच नङ र मासुको जस्तै सम्बन्ध छ । समितिले अघि बढाएका माग र मुद्दामा हाम्रो एक्येबद्धता छ ।’

त्यस्तै, नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालिन व्यवसाय कलाकार सम्बन्धित व्यवसाय भएकोले सरकारले समितिले अघि सारेका माग र गरेको आग्रहलाई आत्मसात् गर्दै तत्काल व्यवसाय खुलाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि आवश्यक परे हामी समितिले गर्ने संघर्षका सबै कार्यक्रममा सहभागिता जनाउँछौं र म यही मञ्चबाट एक्येबद्धता जनाउन चाहन्छु ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समितिको मागप्रति सरकार गम्भीर बन्नुपर्ने जोड दिए । उनले समितिले अघि सारेका माग र मुद्दालाई आफ्नो साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने,‘म आवद्ध सबै मिडियामार्फत यहाँहरुको मागको म उठान गर्नेछु । दोहोरी व्यवसायीहरुलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रमको सञ्चालन भने समितिका सदस्य तथा प्रचारप्रसार विभागका प्रमुख भीम श्रेष्ठले गरेका हुन् । उनी राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका सचिवसमेत हुन् । कार्यक्रमको सभापतित्व विनोद श्रेष्ठले गरेका थिए भने संघर्ष समितिका संयोजक गुणराज खनाल, रसना ढकाल, विश्वास नेपाल, नविन बुढाथोकी, राजमान डंगोलले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्