भारतको मेघालय जंगलमा भेटियो रातको समयमा बत्तीले जस्तै प्रकाश दिने च्याउ



काठमाडौं । रातको समयमा बत्तीले जस्तै प्रकाश दिने च्याउ भेटिएको छ । यी च्याउले रातको समयमा हरियो रंगको प्रकाश दिन्छन् । भारतको मेघालय राज्यका जंगलमा यस्ता च्याउ उम्रिएको पाइएको हो । मेघालय भारतको पूर्वी राज्य हो । यो बंगलादेशको उत्तरतर्फ र भुटानको दक्षिणतर्फ पर्छ । सामाजिक संजालमा यी च्याउका तस्वीर शेयर गरिएका छन् र यसलाई रहस्यमय च्याउ भनिएको छ ।

वैज्ञानिकहरुका अनुसार यो च्याउको प्रजातिको नाम रोरिडोमाइसिज फिलेस्टाचाइडिस हो । भारतको उत्तर पूर्वमा च्याउसँग सम्बन्धित एक परियोजना संचालन गरिएको छ । यस क्रममा यो च्याउसहित च्याउका अन्य ६ सय प्रजाति भेटिएका छन् । हरियो रंगको प्रकाह छोड्ने यो विशेष किसिमको च्याउलाई पहिलो पटक मेघालयको पूर्वी खासी हिल्स जिल्लामा एउटा झरना नजिकै दखिएको थियो । त्यसपछि यो च्याउ पश्चिमी जयन्तिया हिल्स जिल्लामा पनि भेटियो ।

इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार यो च्याउलाई आम भाषामा बायोल्युमिनेसेन्ट भनिन्छ । विशेषज्ञहरुका अनुसार विश्वभर अहिलेसम्म यस्ता चम्किने बायोल्युमिनेसेन्ट च्याउका ९७ प्रजाति भेटिएका छन् । चाइनिज एकेडेमी अफ साइन्सेजकी माइकोलोजिस्ट समंथा करुणार्थनाका अनुसार केही जनावर, बिरुवा, ब्याक्टेरिया र ध्याउ यस्ता हुन्छन् जसले प्रकाश छर्छन । आम रुपमा यिनीहरु समुन्द्रमा पाइन्छन् तर केही यस्ता पनि हुन्छन् जो जमिनमा पाइन्छन् । यिनीहरुले कति मात्रामा प्रकाश छर्छन भन्ने उनीहरुमा भएको रसायनमा निर्भर गर्छ ।

अहिले भेटिएको यो च्याउमा खास किसिमको रासायनिक इन्जाइम ल्युसिफेरेस पाइन्छ । यो पदार्थ अक्सिजनसँग मिसिएमा हरियो रंग बनाउँछ । च्याउमा थप ऊर्जा हुँदा यो प्रकाशको रुपमा निस्किन्छ । च्याउका अलग अलग प्रजातिको जानकारी पत्ता लगाउनको लागि भारतको उत्तर पूर्वका ४ राज्यमा यो परियोजना सुरु गरिएको छ । मेघालय, असम, सिक्किम र अरुणाचल प्रदेशमा यो परियोजना संचालित छ । परियोजनाको सुरुवात बालीपुरा फउण्डेशनले कुन्मिंग इन्स्टिच्युट अफ बोटनी र चताइनिज एकेडेमी अफ साइन्ससँग मिलेर गरेको हो ।

यो परियोजनाका लागि काम गरिरहेका फोटोग्राफर स्टिफन एक्सफोर्ड भन्छन् ‘हामी जहाँ पनि च्याउको लागि जानकारी जम्मा गर्न जान्छौं मानिसहरुसँग चम्किने च्याउको बारेमा सोध्छौं । मेघालयमा पनि हामीले यस्तै गर्यौं र स्थानीयले दिएको जानकारीको आधारमाच्याउसम्म पुग्यौं । फोटोग्राफर स्टिफनले १५ वर्षदेखि च्याउका विषयमा काम गरिरहेका छन् । स्टिफनका अनुसार च्याउको जाँच र जीन सिक्वेन्सिङपछि यो रोरिडोमाइसिज परिवारको भएको पत्ता लाग्यो । तर, यो बाँसको रुखमा उम्रिन्छ त्यसैले यसको नाम पनि बाँससँग जोडेर राखिएको छ । पहिलो पटक यो बाँसकै रुखमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्