
काठमाडौँ । कोरोना भाइरसको महामारीकाबीच आज कक्षा १२ को परीक्षा सुरू भएको छ । संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज सुरु भएको हो ।
४० प्रतिशत अंकका लागि लिइएको परीक्षा हरेक दिन बिहान ८ बजे सुरू भएर साढे ९ बजे सकिनेछ । बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिए जानकारी दिए ।
संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ । संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको छ । परीक्षामा सहभागी भएकै अवस्थामा कसैमा संक्रमण पुष्टि भएमा उनीहरूका लागि भने पछि परीक्षा दिने व्यवस्था मिलाइएको उनले बताए ।
संक्रमितको परीक्षा १५ मिनेट ढिला हुँदा पनि आउजाउ र अरूसँगको जमघट नहुने विश्वास गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।
परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।





