अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ



काठमाडौं । स्याङ्जा, पुतलीबजार नगरपालिका-८ अर्बेङ बस्ने ६० वर्षीय चित्र बहादुर शाहीलाई करिब ४ केजी ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीको घरमा अवैध लागूऔषध गाँजा लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-७ सिद्धार्थ टोलबाट २८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त टोल डेरा गरी बस्ने सिताराम आङदाम्बे तथा उनकी श्रीमती मनिषा मगर, सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय कल्याण राई र सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय रिजन लकान्द्री रहेका छन् ।

सिताराम र मनिषाले लागूऔषध ब्राउन सुगर किनबेच गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा को.३५ प ७०१६ नम्बरको मोटरसाइकल चढी जान लागेका कल्याण राई र रिजन लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा सिताराम र मनिषाको कोठाबाट १३ ग्राम ब्राउन सुगर जस्तो पदार्थ, नगद १ लाख ३३ हजार रुपैयाँ र मोबाइल ३ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग.१५ प ३३५० नम्बरको स्कुटर चालक निलकण्ठ नगरपालिका-६ सुनौलाबजार बस्ने २२ वर्षीय दिलिप दाहाल र स्कुटरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राजन परियार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उक्त स्कुटर जाँच गर्ने क्रममा गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्