नेकपा सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गयो : बिष्णु पौडेल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोको रुपमा विकास हुँदै गएको बताएका छन् ।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रूपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए ।

महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नु पर्ने आवश्यकता औंल्याए ।

उनले भने, पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नु पर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउन सक्षम, प्रभावकारी, नेतुत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको बैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्