
काठमाडौं । मकनानपुरमा गत शुक्रबार एक युवकको हत्या भयो । मृतक बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइबा हुन् । उनलाई आफ्नै साथीले हत्या गरेका थिए । हत्या गर्ने व्यक्ति २० वर्षीय भन्ने भीमराज भोलन रहेको प्रहरीको भनाइ छ ।
उनले आफ्ना साथीमाथि पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शंकरले खुकुरी प्रहार गरी विकासको घाँटीसमेत छिनालिदिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार उनलाई प्रहरीले शनिबार ललितपुरबाट पक्राउ गरेको हो।
के भएको थियो घटना ?
प्रहरीका अनुसार शंकर र विकास मिल्ने साथी हुन् । उनीहरू सँगै बसेर चुरोट, गाँजा लगायतका लागुऔषध पनि सेवन गर्थे । शंकर विकासको घरमा पनि आउजाउ गरिरहन्थे। उनीहरूबीच राम्रो चिनजान थियो।
गत शुक्रबार पनि शंकर विकासको घर पुगेका थिए। शंकर केही घण्टा विकासको घरमै थिए। खाजा खाएपछि भने उनीहरू निस्किए।
‘घटना भएको दिन पनि उनीहरू मज्जाले सँगै घरमा बसेका थिए। खाजा पनि खाएका थिए,’ डिएसपी रानाले भने। त्यसपछि उनीहरू घर नजिकैको सिमाद खोलाको बगरस्थित फुटबल चौरमा पुगेका थिए।
शंकर र विकास त्यहाँ चुरोट खान बसे । त्यतिकैमा उनीहरूबिच विवाद हुन थाल्यो। एक्कासि, शंकरले खुकुरी निकालेर विकासमाथि प्रहार गरे।
‘उनले विकासमाथि पटक-पटक खुकुरीले प्रहार गरेका थिए। तर, त्यहाँ भएका प्रत्यक्षदर्शीहरूले शंकरलाई रोक्न सकेनन्।
‘आफ्नै हजुरआमा त्यहीँ थिइन्। उनले टाढाबाट नगर-नगर भन्दै अघि पनि पुगेका थिए। लठ्ठीले हानेको हो कि भन्ने सोचेर अघि बढिन्,’ डिएसपी रानाले भने, ‘नजिक गएपछि हजुरआमाले खुकुरी देखिन्। त्यसपछि उनी आफ्नो ज्यान जोगाएर गाउँमा गुहार माग्न आइन्।’
प्रहरीका अनुसार उनले विकासको हत्या गर्ने पूर्वयोजना नै बनाएका थिए। उनले खुकुरी बोकेर गएको हुँदा पनि त्यसको पुष्टि हुने डिएसपी रानाले बताए।
घटनापछि शंकर जंगल पसे। तत्कालै मकवानपुर कार्यालय र मातहत कार्यालयबाट ३०-४० जनाको टोली खटाइएको थियो। तर, उनी फेला परेनन्।
खोजतलासकै क्रममा प्रहरीले उनी काठमाडौं भागेको भन्ने खबर पायो। त्यसपछि प्रहरीले अरू प्रहरी कार्यालयलाई पनि पत्राचार गरेको थियो।
कार्यालयका अनुसार उनको हुलिया र फोटो सबै ठाउँमा पत्राचार गरी पठाइएको थियो।
खोजतलास गर्ने क्रममा शनिबार साँझ ५ बजे ललितपुर बागमती गाउँपालिका(२ माल्टाका स्थानीयले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो।
प्रारम्भिक अनुसन्धानका अनुसार विकासले शंकरलाई होच्याउने गरेको कारणले हत्या गरेको बयान दिएका छन्।





