
काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरुले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरु पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।
पत्रमा अस्पतालले दशैंको भत्ता निदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ । साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरुको भनाइ छ ।
महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरुले बताएका छन् । साथै, काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरुको गुनासो छ ।
राजीनामा दिने १६ जना नै आकस्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन् ।





