रोल्पामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न प्रजिअ रानाको अध्यक्षतामा जिल्ला समिति गठन



रोल्पा । रोल्पामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति गठन भएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको अध्यक्षतामा ८ सदस्यिय समिति गठन गरिएको हो ।

जस्को सदस्यहरुमा जिल्ला न्यायाधिवक्ता नुमराज खनाल, प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदी, दलित महिदा सचेतन केन्द्र (ड्वाक) रोल्पाका रेखा सुनार, हिंसा पीडित महिलाहरुको लागि अल्पकालिन आश्रय गृह सेफ हाउस रोल्पाका तुलसा आचार्य, महिला मानव अधिकार रक्षक संजाल रोल्पाका त्रिपनी बैजाली र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका उपाध्यक्ष देवी गुरुङ रहेका छन् । यस्तै सदस्य सचिवमा सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरंगा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष रानाका अनुसार रोल्पा जिल्लाभित्र मानव बेचविखन पीडितलाई शारिरीक तथा मानसिक उपचार गराउन, सामाजिक पुनर्स्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउन स्थापना भएका पुनर्स्थापना केन्द्रको संचालन गर्ने ब्यवस्था मिलाउन मानव बेचविखन तथा ओसार पसार नियन्त्रणको पहिलो संशोधन नियमावली २०७७ को नियम ६ बमोजिम समिति गठन गरिएको हो ।

नव गठिन समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन तथा नियमावली बमोजिम उद्धार गरिएका ब्यक्तिको परिचय खुल्ने आधिकारीक कागजात नभएमा त्यस्ता कागजातहरु बनाउनका लागि सम्वन्धीत निकायमा सिफारिस गर्ने, स्थानीय स्तरमा मानव बेचविखन तथा ओासरपसार नियन्त्रण सम्वन्धी समितिहरु गठनगरी परिचालन गर्ने, जनचेतना अभिबृद्धि गराउने, तोकिए बमोजिमका नीति र योजना अन्तर्गत रही कार्यक्रमको कार्यान्वयन गर्ने, जिल्ला भित्र मानव बेचविखन तथा ओसार पसारको जोखिममा रहेका ब्यक्तिको उद्धार गर्ने, मानव बेचविखन तथा ओसारपसारका बिरुद्ध जिल्लामा कार्यरत संघ संस्थाहरु वीच समन्वय गर्ने लगायतका कामहरु गर्नेछ ।

प्रमुख जिल्ला अधिकारी रानाको कार्यकक्षमा सम्पन्न कार्यक्रममा समितिमा आबद्ध पदाधिकारीहरु लगायत अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्