लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क उपचार गर्ने



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क नै गर्ने बताएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निःशुल्क गर्ने जानकारी दिए ।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार निःशुल्क नै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्