प्रभु साहले फिर्ता गरे दशैं भत्ता



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् ।

महामारीको समयमा पनि सांसदहरूले दशैं भत्ता लिएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमन्त्री साहले आफ्नो खातामा आएको दशैं भत्ता बापतको रकम फिर्ता गरेका हुन् ।
साथै उनले कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु उपयुक्त नहुने पनि उल्लेख गरेका छन् ।

‘कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं,’ साहले दशैं भत्ता फिर्ता गर्दै संसद सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ, ‘यस घडीमा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु म उपयुक्त मान्दिन ।’

साथै उनले आफ्नो बैंक खातामा आएको रकम नगदै फिर्ता गरिदिएका हुन् ।

‘दशैं भत्ता बापत मेरो खातामा पनि रकम पठाइएको छ,’ साह लेख्छन्, ‘मैले उक्त दशैं भत्ता वापत प्राप्त ६४ हजार ७० रूपैयाँ नगद फिर्ता गरेको व्यहोरा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्