‘सरकारको सुनियोजित योजनाविरुद्ध काँग्रेस उभिनुपर्छ’ : सिंह



काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिँहले आरोप लगाएका हुन् ।

विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैं भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्