‘सरकारले जनताको जीवनमा खेलवाड गरेको छ’ : देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हेलचक्राइँ गरेको बताएका छन् ।

गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप देउवाको छ । पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए ।

अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आरोप छ ।

‘अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो । तर सरकारले काम नै गरेको छैन,’ सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ । स्थिति भयावह भइसकेको छ । आइसोलेसन बेडको हाहाकार भइरहेको छ ।’

सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए । ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्