अपडेट : काठमाडौंको सोह्रखुट्टेमा ग्यास विस्फोट, ११ जना घाइते



काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्