साग स्वर्ण विजेता पार्वतीलाई स्वर्ण



काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन् ।

कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् ।

७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो प्रतिस्पर्धा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् ।

सोही प्रतिस्पर्धा पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकमा बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेश्रो बने ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन तथा युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भएको प्रतियोगिताको १८ वर्ष पुरुषमा १३ औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे ।

स्युचाटारका उनले ६.६३ अंक प्राप्त गरे । ५.७० अंक जोडेका मकवानपुरका कृष्णबहादुर बमजन दोश्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेश्रो भए । त्यसै प्रतिस्पर्धा महिलामा ६.१३ अंक जोड्दै स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गरिन् । ६.०६ अंकसाथ चितवनकी जैनथ खातुन दोश्रो भइन् ।

सैनिक आवसीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेश्रो भए । पुरुष ३१–४० वर्षमा ६.३० अंकसाथ बुटवलका सुरज श्रेष्ठले स्वर्ण चुमे । ६.०३ अंकमा बुटवलकै मदन थापा मगर दोश्रो भए । हीराहरि तेक्वान्दो डोजाङ, सिन्धुपाल्चोकका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेश्रो बने ।

मूलपानी टिम च्याम्पियन :

प्रतियोगितामा आयोजक मूलपानी तेक्वान्दो डोजाङ समग्रमा टिम च्याम्पियन बन्यो । ११ प्रतिस्पर्धा समावेश दुईदिने प्रतियोगितामा मूलपानीले ४ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो ।
स्युचाटार ४ स्वर्ण र १ रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको बुटवलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।

बाँकी १–१ स्वर्ण नेपाल प्रहरी र कोटेश्वरले आफ्नो पोल्टामा पारे । प्रतियोगिताको प्रत्येक प्रतिस्पर्धा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिने छ । पुरस्कार बुधबारदेखि खेलाडीको बैंक खातामा पठाउन सुरु गरिने आयोजक मूलपानीका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्डसहित नगद ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । खेलाडीको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार प्रदान गरिने छ ।

यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ । प्रतियोगिता निर्णायकहरु अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपानेले सञ्चालन गरेका थिए । दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्