भक्तपुर हत्या प्रकरण : जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ



काठमाडौं । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण ८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाका हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो ।

गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन बिहीबार ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षका एसएसपी दीपक थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार वाईवालाई मुख्यगरी कुटपिट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका पाइएको एसएसपी थापाले बताए । महाशाखाले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने खुलेको एसएसपी थापाले बताए । तडकभडक देखाउनुपर्छ भन्ने मनासय बोकेर बिहान –बिहान जिम जाने । अनि जग्गा हेर्ने भन्दै लुटपाट गर्ने उनीहरुको दैनिकी रहेको खुलेको छ,’ एसएसपी थापाले भने ।

प्रतिक्रिया दिनुहोस्