जाजरकोट जीप दुर्घटना : आफन्तले शव नबुझ्ने, चालकको पसलमा आगजनी



काठमाडौं । बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन् । मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन् ।

स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरुले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।

छलफलका लागि प्रमुख जिल्ला अधिकारीसहित आफूहरु घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार जीप चालक फरार रहेको आशंका गरिएको छ । चालकको मोबाइल गाडीमै छुटेके छ, शव पनि भेटिएको छैन, उनले भने, फरार भएको भनेर भन्न त सकिँदैन, आशँका भने त्यही हो ।

मृतकका आफन्तले भने चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन् । सयौंका संख्यामा टोली गएर चालकको जुनीचाँदे ५ मटेलम रहेको घर र छेडागाड नगरपालिकाको सवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको भन्ने जानकारी आएको डिएसपी श्रेष्ठले बताए ।

बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका-२ को औलखोलामा भएको जीप दुर्घटनामा वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको छ ।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्