भक्तपुरमा नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिसहित १०७ जना नेकपामा प्रवेश



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्लाको रुपमा रहेको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितको गृहनगर भक्तपुरमा नेमकिपाबाट निर्वाचित वडा सदस्य नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराम शिल्पकार सहित १०७ जनालाई नेकपाले भौतिक दुरी कायम गर्दै पार्टी प्रवेश गराएको छ ।

बुधवार सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा नेकपाको जिल्ला कमिटीद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेमकिपाको युवा संगठनका केन्द्रीय नेता रामेश्वर बोहोराको नेतुत्वमा नेताकार्यकर्ताहरु उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा वडा सचिव रमेश न्याइच्याई, सुनिल ग्वाछा,कान्छाकाजी खत्री, अनिल न्यौपाने, विष्णुप्रसाद सिल्पकार, आशराम गोठे, सालिक राम खत्री, हरिबहादुर थापा लगायत रहेका जिल्ला सचिव डिपी ढकालले जनाएका छन् ।

नवप्रवेशीहरुलाई नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्दप्रसाद पोखरेल, भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजा लगायतले स्वागत गरेका थिए ।

उक्त अवसरमा नवप्रवेशीहरुले नेमकिपामा ब्यक्तिबादी चिन्तन र राजनीतिक संकीर्णता व्याप्त रहेकाले यसले समाज र राष्ट्रको विकासमा योगदान दिन नसक्ने निष्कर्ष सहित पार्टी परित्याग गर्नुपरेको बताएका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व मन्त्री एवं नेकपाको बागमती प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेलले नेकपा नेतृत्वको सरकारले राष्ट्रियता, जनजीविका र विकासनिर्माण लगायतको क्षेत्रमा युगान्तकारी कामहरु गरेको स्मरण गर्दै सरकारका उपलब्धीलाई पार्टीले जनता सम्म लैजानुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला,गरिबी निवारण कोषका उपाध्यक्ष समेत रहेका नेता निर्मल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख रहेका जिल्ला कमिटी सदस्य नवराज गेलाल, सूर्यविनायक नगरपालिका प्रमुख रहेका जिल्ला कमिटी सदस्य वासुदेव थापा, जिल्ला नेता ओमचरण अमात्य लगायतको उपस्थिति रहेको थियो ।जिल्ला अध्यक्ष वचन देउजाको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको संचालन सचिव डिपी ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्