भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरुको कुटपिटबाट एक जनाको मृत्यु, कुटपिट गर्नेहरु फरार



काठमाडौं । भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरुको कुटपिटबाट एक जनाको ज्यान गएको छ । बुधबार चाँगुनारायण नगरपालिका ८ सँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिट गरेका थिए ।

उनको बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण थेबेले जानकारी दिए ।

जग्गा हेर्न आएका दुई जनाले योन्जनलाई घरबाट एक डेढ किलोमिटर टाढा जग्गा देखाउन भनि लगेका थिए । तर एक्कासि उनीहरुले मरणासन्न हुनेगरी कुटपिट गरी त्यहीँ छाडेर भागेका थिए ।

परिवारका अनुसार उनीमाथि साढे पाँच बजे कुटपिट भएको थियो। यद्यपी प्रहरीलाई भने बेलुकीमात्रै खबर पुगेको डिएसपी थेबेले बताए।

उनीमाथि कुटपिट हुनुको कारण नखुलेको परिसरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् । उनीमाथि कुटपिट गर्नेहरू फरार छन् । उनीहरूको खोजी भइरहेको छ, उनले भनिन्, अहिले कारण पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्