
काठमाडौं । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन् ।
उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन् । बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे । अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन् ।
उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन् । त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे । बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पुर्याए । त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई जानकारी गराए ।
प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए । डीआईजी थापाका अनुसार पीडित रैदास केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन् । त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए ।
श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो । अभियुक्त श्रेष्ठ मलेसियास्थित टप ग्लोभ कम्पनीस्थित नेला कर्नर क्यान्टिन सञ्चालक रहेछन् । श्रेष्ठकै योजनामा उनकी पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीले रैदासलाई ६ दिन बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको छ । रकम जम्मा भएपछि छाडिएका रैदास पनि सोही कम्पनीमा कार्यरत छन् ।
श्रेष्ठले मलेसियामा रहेका सोझा नेपाली कामदारलाई धम्क्याएर रकम असुल तथा कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी २२ वर्षदेखि मलेसियामा बस्दै आएको पाइएको छ । ६ वर्षदेखि मलेसियामा कार्यरत रैदासलाई कम्पनीको पैसा चोरेको अभियोग लगाएर चालकको कोठामा थुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाक्रमको सुरुआतमा रैदाससँग कुरा गर्दागर्दै फोन काटिएको अनिताले बताइन् । उनका अनुसार त्यसको दुई दिनपछि मात्र बिहान सवा ४ बजे फेरि मोबाइलको घण्टी बज्यो । तर, पतिको मोबाइलबाट कल आए पनि अरू नै कोही बोले । ती व्यक्तिले रैदासलाई बन्धक बनाएर राखेको बताए ।
उनले एक–दुई दिनमै ६० हजार रिंगिट (१७ लाख १८ हजार रुपैयाँ) बैंकमा जम्मा नगरे रैदासलाई मारिदिने धम्की दिए । तब पतिलाई केही नगर्न आग्रह गर्दै अनिताले पैसा खोजेर पठाइदिने सहमति जनाइन् । अपहरणको ६ दिनमा रैदासलाई अपहरणकारीले मुक्त गरेको उनले सुनाइन् । ब्युरोकै प्रहरीका आग्रहमा अनिताले लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा अपहरण र शरीर बन्धकमा श्रेष्ठविरुद्ध जाहेरी दिइन् । (अन्नपूर्ण पोस्ट)





